• आइतबार ८-१४-२०८३/Sunday 11-29-2026

शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सकियो कालिकोटको शैक्षिक गोष्ठी, दरबन्दी मिलानदेखि विद्यालय मर्जसम्म छलफल

कालिकोट — जिल्लाको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यसहित सदरमुकाम मान्ममा शुक्रबारदेखि आयोजित दुईदिने शैक्षिक गोष्ठी १९ बुँदे सामूहिक प्रतिबद्धतापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ। गोष्ठीमा विद्यालयको दरबन्दी मिलान, विद्यालय मर्जर, प्रधानाध्यापक व्यवस्थापन, शिक्षकको क्षमता विकासदेखि शिक्षामा महिला कार्यकारी नेतृत्वको विकाससम्मका विषयमा गहन छलफल भएको छ।

दुई दिनसम्म चलेको गोष्ठीमा कालिकोटको शिक्षा क्षेत्रका विद्यमान समस्या, चुनौती र सम्भावनाबारे समूहगत छलफल तथा अन्तरक्रिया गरिएको थियो। छलफलपछि जिल्लाका शैक्षिक सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै त्यसको अक्षरशः कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

प्रतिबद्धतापत्रमा शैक्षिक अवस्थाको अनुगमन र असल अभ्यासको आदानप्रदानका लागि सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र नौवटै पालिकाका शिक्षा शाखा प्रमुखको सहभागितामा संयुक्त घुम्ती बैठक सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै, जिल्लाभर परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गर्न एक पालिकाका शिक्षा शाखा प्रमुखलाई अर्को पालिकामा खटाउने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा जिल्लाभर एकै समयमा र एउटै प्रश्नपत्रबाट सञ्चालन गर्ने सहमति भएको छ।

कालिकोटका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा शिक्षक दरबन्दी मिलानको काम यथाशीघ्र अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षक संघ–संगठनका प्रतिनिधि सम्मिलित समिति गठन गरिने भएको छ।

 

त्यस्तै, शिक्षा नियमावलीको दशौँ संशोधनबमोजिम कार्यविधि निर्माण गरी चालु आर्थिक वर्षभित्र प्रधानाध्यापक व्यवस्थापन अनिवार्य गर्ने प्रतिबद्धता जनाइएको छ। प्रत्येक स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलब–भत्ताबाहेक कुल बजेटको कम्तीमा १० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने सहमति पनि भएको छ। पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा जिल्लाभर एकरूपता कायम गर्दै न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त तलबमान निर्धारण गरिने जनाइएको छ।

शिक्षण सिकाइलाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन माध्यमिक तहका विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको व्यावसायिक क्षमता विकासका लागि स्थानीय रोस्टर निर्माण गरी तालिम दिने तथा जिल्लास्तरमा बृहत् सूचना प्रविधि (आईसीटी) तालिम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

घोकन्ते शिक्षाको अन्त्य गर्दै सीपमूलक, बालमैत्री र समावेशी शिक्षा प्रवर्द्धन गर्ने, विद्यालयको भौतिक संरचना सुधार गर्ने, शिक्षकमा पेसागत व्यावसायिकता, नैतिकता, अनुशासन र जवाफदेहिता अभिवृद्धि गर्ने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने विषयसमेत प्रतिबद्धतापत्रमा समेटिएका छन्।

प्रतिकृया दिनुहोस

रास्कोटमा शैक्षिक सुधारको पहल : चारवटै माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिने

सहभागी, बाँकी चार विद्यार्थी पनि छिट्टै जोडिने।   कालिकोट — रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले

रास्कोटमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जनाको शल्यक्रिया, ७४७ जनाको आँखा परीक्षण

कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जना नागरिकले आँखाको शल्यक्रिया सेवा लिएका छन्। रास्कोट नगरपालिका तथा

अदालतको अन्तरिम आदेशविपरीत बडुवालको बैंक खाता रोक्का गर्न मन्त्रालयको निर्देशन, मन्त्रालय र अदालतबीच क्षेत्राधिकारको प्रश्न

कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको सरुवा विवादले नयाँ मोड लिएको छ। सरुवा

↑