• आइतबार ७-२३-२०८३/Sunday 11-08-2026

नरहरीनाथमा जनप्रतिनिधिका आफन्तलाई बोक्न एम्बुलेन्स ! दमकल, शववाहन र एम्बुलेन्सको अभावमा नागरिक सास्ती खेप्दै

कालीकोट । नागरिकको आपत्कालीन उद्धार, स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षाका लागि आवश्यक सरकारी सवारीसाधनको अभाव कालीकोटका स्थानीय तहमा देखिएको छ । भएका सवारीसाधनसमेत उचित व्यवस्थापन र प्रयोगमा नआउँदा नागरिकले सामान्यदेखि गम्भीर आपत्कालीन अवस्थामा समेत सास्ती खेप्नुपरेको छ ।

एम्बुलेन्स, शववाहन, दमकल, डोजर, स्काभेटरलगायतका साधन हरेक सरकारका लागि अत्यावश्यक र आपत्कालीन अवस्थामा तत्काल परिचालन हुनुपर्ने साधन हुन् । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाहेक अधिकांश स्थानीय तहमा यस्ता साधनको पर्याप्त उपलब्धता र सहज पहुँच छैन । कालीकोटका महावै ,पलाता र पचालझरनाका केही भूभागबाहेक अधिकांश स्थानीय तहका वडासम्म सडक सञ्जाल पुगे पनि एम्बुलेन्स, दमकल र शववाहन सेवा नागरिकको सहज पहुँचमा पुग्न सकेको छैन ।

 

यसको एउटा उदाहरण केही दिनअघि कालीकोट सदरमुकाम नजिकै भएको सवारी आगलागीको घटना हो । एउटा गाडीमा आगलागी हुँदा तत्काल दमकल उपलब्ध नभएकै कारण करिब तीन घण्टासम्म गाडी जलेर खरानी भयो । दसैँ मनाउन पुर्ख्यौली घर फर्किएका यात्रुका लत्ताकपडा, गरगहना तथा अन्य अत्यावश्यक सामग्रीसमेत जलेर नष्ट भए । यात्रुहरू ज्यान जोगाएर गहभरी आँसु लिएर  अर्को गाडीमा घर फर्किन बाध्य भए । तर घटनास्थलमा तत्काल आगो नियन्त्रण गर्न सक्ने दमकल उपलब्ध गराउन नजिकै रहेको  प्रहरी, प्रशासन, खाँडाचक्र नगरपालिका र जिल्ला समन्वय समितिसँग समेत आवश्यक साधन थिएनन् ।

त्यस्तै, यसै साता खाँडाचक्र नगरपालिका–२ मा ग्यासजन्य आगलागीबाट एउटा घर ध्वस्त भएको घटना पनि सार्वजनिक भएको छ । यस्ता घटनाले जिल्लामा दमकल तथा विपद् व्यवस्थापनका साधनको आवश्यकता थप उजागर गरेका छन् ।

अर्कोतर्फ, स्थानीय तहले खरिद गरेका एम्बुलेन्ससमेत कतै प्रयोगविहीन अवस्थामा थन्किएका छन् भने कतै दुरुपयोग भइरहेको नागरिकको गुनासो छ । तिलागुफा, शुभकालिका र खाँडाचक्र नगरपालिकाका एम्बुलेन्स संरक्षण तथा व्यवस्थापनको अभावमा थला परेको स्थानीयको भनाइ छ । जिल्लाका केही स्थानीय तहले आफ्ना लागि दुईवटा गाडी सञ्चालन गरिरहँदा नागरिकले भने सामान्य बिरामी पर्दासमेत सहज रूपमा एम्बुलेन्स पाउन सकेका छैनन् । सरकारी साना सवारीसाधनसमेत आफन्तका नाममा प्रयोग भइरहेको भन्दै प्रश्न उठ्ने गरेका छन् ।

 

बिरामी  एम्बुलेन्स नदिएको आरोप लगाउदै जनप्रतिनिधिका आफन्त एम्बुलेन्समा बोकेको भिडियो सार्वजनिक भएको छ ।

सरकारी एम्बुलेन्सको प्रयोगलाई लिएर नरहरिनाथ गाउँपालिकामा थप विवाद देखिएको छ । गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिका आफन्तलाई यात्रुका रूपमा ओसारपसार गरिएको भन्दै स्थानीय युवाहरूले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

गत २१ गते शनिबार नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स सदरमुकाम मान्मबाट यात्रु बोकेर गाउँपालिकातर्फ गएको भन्दै युवाहरूले विरोध जनाएका हुन् । उनीहरूको आरोपअनुसार बिरामी तथा मृतकको शव ओसारपसार गर्न नदिएको तर  एम्बुलेन्समा यात्रु बोक्ने गरिएको गुनासो गरेका छन । 

यसैबीच, नरहरिनाथ गाउँपालिका–९ लालुका मानबहादुर रावलको अघिल्लो महिना नेपालगन्जमा निधन भएपछि शव अन्तिम संस्कारका लागि पुर्ख्यौली गाउँ लालु ल्याउनुपर्ने अवस्था आएको थियो । आफन्तले शववाहनमार्फत शव ल्याउने प्रयास गरे पनि नरहरिनाथको खुलालुदेखि लालु जाने सडकमा शववाहन जान नसकेको भन्दै नेपालगन्ज नै फर्किएको बताइएको छ ।

त्यसपछि मृतकका आफन्तले करिब तीन घण्टासम्म खुलालु स्थित सडकमा शव  राखेर एम्बुलेन्सको खोजी गरेका थिए । तर एम्बुलेन्ससमेत उपलब्ध नभएपछि अन्ततः मृतकको शव ट्याक्टरमा राखेर लालु पुर्‍याउनुपरेको थियो ।

 

मृतक रावलका भानिज नाता पर्ने स्थानीय ओमप्रकाश भण्डारीका अनुसार शव ट्याक्टरमा राखेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता हुँदासमेत एम्बुलेन्स उपलब्ध भएन । तर अहिले त्यही एम्बुलेन्समा जनप्रतिनिधिका आफन्तलाई यात्रुका रूपमा ओसारपसार गरिएको भिडियो सार्वजनिक भएपछि स्थानीय युवाहरूले विरोध गरेका हुन् ।

भण्डारीका अनुसार एम्बुलेन्स यात्रु बोकेर गाउँतर्फ जाँदै गरेको अवस्थामा खुलालुमा  युवाहरूले रोकेर विरोध जनाएका थिए । एम्बुलेन्स चालकले समेत यात्रु जनप्रतिनिधिका आफन्त रहेको बताएको स्थानीयको भनाइ छ ।

एम्बुलेन्सको प्रयोगमा प्रहरीबाट समेत प्रभावकारी चेकजाँच तथा निगरानी नभएको र जथाभाबी प्रयोग हुँदा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

नियमन  गर्ने निकाय मौन, नागरिकको प्रश्न : सरकारी साधन कसका लागि ?

कालीकोटका स्थानीय तहमा सरकारी सवारीसाधनको व्यवस्थापन, संरक्षण र प्रयोगबारे लामो समयदेखि प्रश्न उठ्दै आएका छन् । नागरिकले एम्बुलेन्स खोज्दा नपाउने, शववाहन नपाएर शव ट्याक्टरमा बोक्नुपर्ने र आगलागी हुँदा दमकल नपाएर घण्टौँसम्म सम्पत्ति जलेर नष्ट हुने अवस्था छ ।तर अर्कोतर्फ सार्वजनिक प्रयोजनका लागि खरिद गरिएका सवारीसाधन व्यक्तिगत तथा आफन्तको सुविधामा प्रयोग भइरहेको आरोप लाग्ने गरेको छ ।

सरकारी सवारीसाधन सार्वजनिक सम्पत्ति हुन् । तिनको प्रयोग निश्चित मापदण्ड, जिम्मेवारी र सेवामुखी उद्देश्यअनुसार हुनुपर्ने हो । विशेषगरी एम्बुलेन्स बिरामी तथा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि र शववाहन मृतकको शव सुरक्षित रूपमा ओसारपसार गर्न प्रयोग हुनुपर्ने साधन हुन् ।

यस्ता साधनको दुरुपयोग भएमा सम्बन्धित स्थानीय तह, चालक तथा नियमन गर्ने निकायले जवाफदेहिता लिनुपर्ने नागरिकको माग छ ।

कालीकोटका स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी र सम्बन्धित नियमनकारी निकायले एम्बुलेन्स तथा अन्य सरकारी सवारीसाधनको अवस्था, सञ्चालन र प्रयोगबारे अनुगमन गरी नागरिकलाई सहज सेवा उपलब्ध गराउनुपर्ने उनिहरूको माग छ ।

कालिकोटमा  स्थानियतहले दुबै कार्यकालमा कति सवारि खरिद गरे तिनको सदुउपयोग छकि दुरूपयोग भन्नेकुरा एकिन तथ्याङक नै  नरहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

कालिकोट पलाताकी ४४ वर्षीया आईती भण्डारी पारिवारिक सम्पर्क बिहिन , खोजी गरिदिन परिवारको आग्रह

कालिकोट। कालिकोटको पलाँता गाउँपालिका–१, पुलाहाँ निवासी ४४ वर्षीया आईती भण्डारी परिवारिक  सम्पर्कबिहिन  भएपछि परिवारले खोजी गरिदिन सार्वजनिक

रास्कोट नगरका चार वर्षीया जेनिशाको जीवन बचाउन परिवारलाई आर्थिक अभाव

कालिकोट। रास्कोट नगरपालिका–१, न्यौपानेवाडाकी चार वर्षीया जेनिशा न्यौपाने भिरमा खसेर  गम्भीर घाइते भएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या

रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकायको सम्बन्धनबारे अन्तिम निर्णय तिहारअघि वा लगत्तै हुने

कालिकोट। रास्कोट बहुमुखी क्याम्पसको शिक्षा संकाय सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको

↑